इलाम । निर्दोष भएपनि भारतमा ४० वर्ष जेल जीवन बस्नु परेका इलामको माई नगरपालिका १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाको बैंक खाता पनि खुलेको छ । आज उनको नेपाल एसबीआई बैंक लिमिटेड इलाम शाखामा खाता खुलेको हो । उनले नेपाली नागरिकता लिएपछि खाता खोल्न सजिलो भएको हो ।
उनको बारे समाचार आएसँगै उनलाई सहयोग गर्न चाहनेहरुलाई सहज होस भनी परिवारले बैंक खाता खोलिदिएको हो । कमजोर आर्थिक अवस्था भएका उनको परिवारलाई सुख दिन ४० वर्ष अगाडी भारत पसेका उनलाई फसाएर जेल पठाइएको थियो ।
उनी निर्दोष भएपनि सुनुवाई हुन नसक्दा जेलमा बस्नु परेको हो । आज नेपाल एसबीआई बैंकका शाखा प्रबन्धकले तिम्सिनालाई चेकबुक हस्तान्तरण गरे । उनलाई माई नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
उनले दुर्गाप्रसाद र उनकी बहिनी पविमायाको उपचार गराउन अस्पतालसम्म लैजाने र घर फर्किँदा लाग्ने खर्चसमेत पनि पालिकाले नै बेहोर्ने जानकारी गराएका छन् । दुर्गाप्रसादको उपचारको जिम्मा भने प्रदेश सरकारले लिइसकेको छ ।
यसैबीच दुर्गाप्रसादकी आामा धनमाया तिम्सिनालाई श्रवण यन्त्र प्रदान गरिएको छ । करुणा फाउन्डेशन इलामले धनमायालाई यस्तो यन्त्र दिएको हो । उनी कम सुन्न र छोराले सानो स्वरमा थोरै मात्र बोल्ने हुँदा आमाछोराबीच कुराकानी हुन सकेको थिएन ।