देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एमसीसी पास गर्न सहयोग मागेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा उनले ओलीसँग यस्तो आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । उनका अनुसार गठबन्धनबाट सरकारलाई असहयोग गरेका कारण एमसीसी अनुमोदनमा समस्या रहेको उनले बताएका छन् । सोहीकारण उनले एमालेसँग यस्तो सहयोगको आग्रह गरेका हुन् ।

जवाफमा ओलीले आफ्नो पार्टीले ६ महिनादेखि जायज माग राख्दै संसद अवरुद्ध गरेका कारण सर्वप्रथम ती माग पुरा हुनुपर्ने बताएको रिजालले जानकारी दिए । आफ्नो माग पुरा नभएसम्म अन्य कुनै संसदीय प्रक्रियामा प्रवेश नगर्ने जवाफ ओलीले प्रधानमन्त्री देउवालाई दिएका छन् । भेटमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत भेटवार्तामा सहभागी भए ।