काठमाडौं । नेपालको सबैभन्दा विद्युत प्रसारण लाइन ढल्केबर सबस्टेशन तयार भएको छ । अहिलेसम्मको सबैभन्दा बढी क्षमताको यो सवस्टेशनलाई अब पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशन उद्घाटन गर्ने भर्एका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार ढल्केबरमा अहिले १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएका छन् । कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् ।
जसले करिब ९०० मेगावाट विद्युत प्रसारण गर्न सक्ने क्षमता राख्छ । सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशन समेत भएको राससले लेखेको छ । सबस्टेशनमा जडित ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर परीक्षण गरिएको थियो ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको प्राधिकरणको भनाई छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको बताइएको छ ।
अब ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसके विद्युत् भारत निर्यात गर्न समेत सम्भव हुने भएको छ ।