दोहोरो अंकले घट्यो नेपाली सेयर बजार

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । सोमबार ७ अंकले बढेको बजारमा आज दोहोरो अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ अर्बले बढेर ४ अर्ब नाघेको छ ।

सेयर बजार मापक सूचक नेप्से ३२.३१ अंकले घटेर २७३३.१३ विन्दुमा आइपुगेको छ । मंगलबार २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रो १२ करोड र महालक्ष्मी विकास बैंक १० बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेकोे बजारमा आज मानुषी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज आइसीएफसी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.८४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एनआइबीएल प्रगति फण्ड र नारायणी विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, गुडविल फाइनान्स, सिंगटी हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स, पोखरा फाइनान्स, खानीखोला हाइड्रोपावर, गुह्येश्व्री मर्चेन्ट र श्री इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।