काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभर उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । सूचकसँगै गिरावट आएसँग कारोबार रकम पनि खुम्चिएको छ । आज करिब साढे २ अर्बको मात्र कारोबार भएको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको २ अर्ब ४६ करोड ८६ लाख ८९ हजार ८६३ रुपैयाँ बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र माइक्रोफाइनान्स समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.५२ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.२३ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्ट्रीलरी र गोर्खाज फाइनान्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।
घट्दो बजारमा आज माउन्टेन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै ६.१७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, नारायणी विकास बैंक, मैलुङखोला, तेह्रथुम पावर, लिबर्टी इनर्जी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।