नयाँ वर्षमा प्रधानमन्त्रीको लोकप्रिय निर्णय, कोरोना नसकिएसम्म पारिश्रमिक नलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म तलव नलिने घोषणा गरेका छन् ।

नयाँ वर्षमा देशबासीलाई उपहारस्वरुप उनले तलव नलिने घोषणा गरेका हुन् । उनले बुझ्ने सबै तलव सिधै कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको बताएका छन ।

आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको स्मरण गर्दै प्रधानमन्त्रीले मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् ।

देशमा आएको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयासको आवश्यकतामा उनको जोड रहेको छ ।