नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार उच्च अंकले बढेको हो ।

आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको थियो ।

शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेत चिनिने विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले बजार बढेको हो । यसअघि दुई पटक नेप्सेले अल टाइम हाइ रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५० कम्पनीको २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक हरियो भएको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने १० वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।