नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, सुरुङ खन्ने काम ६७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम दुई तिहाई बढी सम्पन्न भएको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार कात्तिक २२ गतेसम्म सुरुङ खन्ने काम ६७.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर (क्रस प्यासेजसहित)मध्ये हालसम्म ३ हजार ७०२.८० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

आयोजनका प्रवक्ता रमेश कोइरालाका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ६४२ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७९५.६० मिटर र धादिङतर्फ ८४६.४० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म १ हजार ८६० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार मिटर र धादिङतर्फ ८६० मिटर सुरुङ खन्ने काम पूरा भएको उनले जानकारी दिए ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ७९७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

कोभिडकालमा समेत निरन्तर काम भए पनि आयोजना समयमै सकिनेमा भने आशंका रहेको छ । ठेक्का अवधि आगामी जेठसम्म रहे पनि सो समयभित्रै काम सम्पन्न गर्न मुस्किल रहेको आयोजनाले जनाएको छ ।