निजगढ विमानस्थल यसै वर्ष निर्माण प्रारम्भ हुन्छ : अर्थमन्त्री

वीरगन्ज । अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलको निर्माण यसै वर्ष प्रारम्भ हुने बताएका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले विमानस्थल बनाउन यही वर्षदेखि सुरू गरिने बताए। ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरू गर्ने हो। यसको लागि जे पनि गर्न तयार छु,’ उनले भने, ‘यो जनार्दन शर्माको प्रतिबद्धता हो। शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो।’

उनले वीरगंजमा चिनी मिल चलाउन बजेटमा उल्लेख गरेको कुरालाई मजाकको रूपमा नलिन पनि अनुरोध गरे। ५\७ महिनादेखिको अध्ययनबाट मिल चलाउन सरकार तयार भएको उनले बताए। उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगंज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।