काठमाडौं । निजी ल्यावमा गरिएको परीक्षणमा कोरोना पुष्टी भएमा समेत अब कोरोना बीमा दावि गर्न सकिने भएको छ । यसअघि बीमा कम्पनीहरुले सरकारी ल्यावको रिर्पोटलाई मात्र मान्य हुने बताएका थिए । बीमा समिति कोरोना बीमा सम्बन्धी मापदण्ड संशोधन गर्दै यस्तो प्रावधान सुनिश्चित गरेको हो ।
कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि अब भने कोरोना बीमा दाबी गर्न सकिने छ । यो प्रावधान आजबाट लागु हुनेछ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डले स्पष्ट पारेको छ ।
समितिबाट यसअघि निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने निर्णय भएपछि त्यसमा बीमा कम्पनीको चलखेल भएको भन्दै चर्को आलोचना भएको थियो । त्यसकारण समिति मापदण्ड फेर्न बाध्य भएको हो ।
संशोधित मापदण्डमा मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरिएको छ ।
बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत मापदण्डले तोकेको छ । प्रकृया पूरा भएपछि ७ दिन भित्र दाबी भुक्तानी भइसक्ने भएको छ ।