निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकार समक्ष विभिन्न प्रस्ताव गरेका। छ । दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि जोर विजोरसम्मको प्रस्ताव गरिएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न निगमले आग्रह गरेको हो ।

सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको छ । प्रस्ताव अनुसार मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इन्धन दिन आग्रह गरिएको छ । शनिबार देशका प्रमुख शहरमा सवारी साधन निषेध गर्न समेत निगमले भनेको छ । सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ ।

निगमले सरकारलाई पठाएको सुझावमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दुरीमा सवारी सधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । निगमले अधिकतम् मात्रामा सवारी साधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ ।