काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तेहेरो अंकले घटेको हो ।
बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो । यस्तै, यही भदौ २० गते पनि नेप्से १०८ अंकले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेपछि घट्न थालेको बजार पछिल्लो समय तरलता अभावले झनै प्रभावित पारेको छ । तरलता अभावका कारण बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो ।
सूचकमा उच्च गिरावट आउँदा लगानीकर्ता आत्तिएर सेयर बेच्दा कारोबार रकममा बढोत्तरी आएको छ । प्यानिक सेलका कारण आज करिब साढे ८ अर्बको सेयर किनबेच भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ११४.०२ अंकले घटेर २६.९८.२४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बढीको १ करोड ७३ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ८.५६ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ६.८, विकास बैंक ६.३४ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको साढे २२ करोड र नबिल बैंक १८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
तेहेरो अंकले घटेको बजारमा आज २ दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किछ लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।
गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, हिमालयन ऊर्जा, घलेम्दी र युनाइटेड मोदीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।
यसैगरी, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर, श्री इन्भेष्टमेन्ट, रिलायन्स, नेपाल, बेस्ट, सेन्टर फाइनान्स, आँखुखोला, ग्रीन लाइफ, पाँचथर पावर, खानीखोला, रिडी, पञ्चकन्यामाइ हाइड्रोपावर र नारायणी विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।