नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेका हुन् । उनले अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्ने भएका हुन् । थम्पसन अहिले अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रुपमा कार्यरत छन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई रहेको छ । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव रहेको समेत बताइएको छ । उनले मलेसियाको क्वालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका छन् । रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव उनले बटुलिसकेका छन् । नेपालमा अमेरिकाले अधिकांश समय अनुभवी कुटनीतिज्ञलाई राजदूतका रुपमा खटाउने गर्छ । किनकी नेपाल चीन र भारतको बीचमा रणनीतिक रुपमा अवस्थित मुलुक हो ।