काठमाडौं । लुम्बिनीमा निर्माण भइरहेको चार्जिङ स्टेनशको परीक्षण सफल भएको छ ।
चार्जिङ स्टेशन निर्माण मात्रै भएको छैन, सोलारबाट त्यसको लागि आवश्यक विद्युत उत्पादन पनि भएको छ । यी दुवै संरचनाको परीक्षण सफल भएसँगै संचालनमा आएको हो ।
तयार भएको चार्जिङ स्टेशनमा ठूला बस, कार तथा इलेक्ट्रीक अटो रिक्सा पनि चार्ज गर्ने व्यवस्था गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
यहाँ लगाइएको सोलार प्लान्टले १५४ किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता राख्छ । सोलारबाट बिजुली उत्पादन गरेर सञ्चालित विद्युतीय बस चार्जिङ स्टेसन नेपालको सबैभन्दा ठूलो हो ।
सिस्टम चेकिङ, टेस्टिङ र कमिसनिङ सफल भएसँग चार्जिङ स्टेसन लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो । अहिले स्थानीय स्तरमा चलिरहेका इलेक्ट्रीक रिक्सा यहाँ चार्ज गर्न आउन थालेको विकास कोषले जनाएको छ ।
यहाँ एक पटकमा १६ वटा गाडी चार्जर गर्न मिल्ने बनाइएको छ । यहाँ जडान भएका १६ मध्ये १३ वटा चार्जर ७ किलोवाट क्षमताका छन् । ३ वटा भने फास्ट चार्जर जडान हुन् । यी तीनवटा चार्जरले ८० किलोवाट आवर सपोर्ट गर्ने एउटा साधन, ४० किलोवाट आवर सपोर्ट गर्ने दुईवटा साधन एकैपटक चार्ज गर्न मिल्ने छ ।
यहाँ एकै पटक ७५ वटा इलेक्ट्रीक रिक्सा चार्ज गर्न मिल्ने प्वाइन्ट बनाइएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नौवटा चार्जिङ प्वाइन्ट राखिएको छ । एयरपोर्टमा ८० किलोवाट आवर क्षमता र ४० किलोवाट आवर क्षमताको सवारीसाधनका लागि ८ वटा चार्जर राखिएको छ ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत चार्जिङ स्टेसन निर्माण गरिएको हो । यसलाई जापानको इसाका इलेक्ट्रीक कम्पनीले निर्माण गरेको हो ।