दोलखा । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालनमा आएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सोमबारदेखि छ वटा युनिटबाट विद्युत उत्पादन थालिएको हो । यो आयोजनाको कुल क्षमता ४५६ मेगावाट हो । स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको गत जेठमा उद्घाटन भएको थियो । यसअघि ५ वटा युनिटबाट उत्पादन थालेको आयोजनामा सोमबारबाट थप एक युनिट समेत संचालनमा ल्याइएको हो । आयोजनामा ७६, ७६ मेगावाटका छ युनिट छन् ।
मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन शुरु भएको छ । अर्थातः ती युनिटबाट निस्किएको विजुलीले आम्दानी समेत गर्न थालेको छ । दुई युनिट भने परीक्षणमै छन् । पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिने आयोजनाको भनाई छ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०, १३२ केभीको सब–स्टेसनमा जडान गरिएको छ । विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भएको हो ।