काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको भएको छ । सोहिकारण ५ खर्ब ६८ अर्ब १७ लाख रुपैयाँको व्यापार घाटा देखिएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएकामा यसवर्ष साढे २ खर्बले बढेर ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यस वर्ष व्यापार घाटा ५६.८३ प्रतिशतले बढेको तथ्यांक छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारको आकार ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो ।
गत वर्ष यो अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको छ ।
चार महिनाको अवधिमा ८२ अर्ब १२ करोड ४२ लाखको वस्तु निर्यात भएकामा साउनदेखि असोजसम्म ६५ अर्ब ५ करोड रुपैयाँको निर्यात भएको छ । कात्तिकमा मात्र १७ अर्ब ७ करोड रुपैयाँको निर्यात भएको छ ।