काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । फागुनयता सरकारले करीव एक दर्जन पटक मूल्य वृद्धि गरिसकेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको जनाएको छ ।
यसअघि चैत २२ मा पछिल्लो पटक मूल्य बढेको थियो । नयाँ मूल्य अनुसार काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल, मटितेलको १०४ रुपैयाँ पुगेको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा रहेको निगमले जनाएको छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने निगमले उल्लेख गरेको छ । यो सो घाटा मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ ।