काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गर्दै यो आजै राती १२ बजेबाट लागु हुने निगमले बताएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । निगमलाई उच्च घाटा रहेको खाना पकाउने ग्यासमा भने मूल्य बढाइएको छैन । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ पुर्याइएको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । कात्तिक २४ मा मूल्य समायोजन भएयता मूल्य बढाइएको थिएन । निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य आउँदा अधिकांश पटक मूल्य बढेको छ । तर, निगमले भने ३ पटक मात्र मूल्य समायोजन गरेको छ । निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको छ ।