नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यसमा १७ हजार २९९ जना भारतीय पर्यटक छन् ।

दोस्रो स्थानमा रहेको अमेरिकाबाट एक महिनामा ५ हजार २२८ जना पर्यटक आएका छन् । जनवरीदेखि जुलाई सम्मको सात महिनामा भने कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । कोभिड १९ महामारीपछि चीन सरकारले आफ्ना नागरिकलाई समेत विदेश भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय यस्तो कडाइ खुकुलो बन्दै गएपछि चिनियाँ पर्यटकको समेत आगमन बढ्न थालेको छ ।

जुलाईमा मात्र चीनबाट १५ सय ९३ जना पर्यटक आएका छन् । यो कोभिड(१९ यता एक महिनामा आएका चिनियाँ नागरिकको सबैभन्दा ठूलो संख्या हो । यद्दपि यो संख्या साविकको जत्ति भने होइन । सन् २०१९ मा जुलाईमा १० हजार ८०८ जना चिनियाँ नागरिक आएका थिए । जुलाईमा भारतीयपछि अमेरिकाबाट बढी पयर्टक आएका छन् ।

सन् २०२२ जुलाईमा बढी पर्यटक आएका ५ मुलुक

भारत : १७ हजार २९९
अमेरिका : ५ हजार २२८
बेलायत : ३ हजार ९५३
बंगलादेश : १ हजार ८७४
चीन : १ हजार ५९३