काठमाडौं । नेपालले हजारौं विदेशी नागरिकलाई आकर्षक रोजगारी प्रदान गरेको छ । त्यो पनि इज्यतिलो काममा । तपाई पत्याउनु हुन्छ ?
किनकी स्वदेशमा काम पाएनौं भन्दै खाडीको तातो धुपमा संघर्ष गरिरहेका नेपालीको व्यथाले देशमा कुनै अवसर नै छैन कि भन्ने भान पर्छ ।
तर, नेपालमा विदेशबाट दक्ष कामदारले आकर्षक मूल्यमा रोजगारी गरिरहेका छन् । यहाँबाट ठूलो रकम विदेशीएको छ । नेपालमा भारतीय नागरिकको यकिन तथ्यांक छैन ।
तर, भारत सरकारको तथ्यांक हेर्ने हो भने भारतमा जाने रेमिट्यान्समध्ये टप १० मुलुकमा नेपाल पर्छ । यहाँबाट वार्षिक ३ खर्ब हाराहारी रकम भारत जाने गरेको छ ।
जहाँकी वार्षिक ९ खर्ब हाराहारी रकम मात्र विदेश पुगेका नेपालीले स्वदेशमा पठाउने गरेका छन् । नेपालले विदेशमा अदक्ष कामदार पठाउँछ, काम अत्यन्तै धेरै गर्नुपर्छ र तर पारिश्रमिक कम आउँछ ।
तर, नेपालमा भने विदेशीले निकै इज्यतिलो जागिर गर्छन् र राम्रो कमाई गरी स्वदेश फर्कन्छन् ।
नेपालमा होटल, एयरलाइन्स, उद्योग, परियोजना र संघसंस्थामा विदेशी कामदारको माग अधिक छ ।
श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार प्राविधिक क्षेत्रमा बढीजसो विदेशी कामदार ल्याउनु परेको छ । किनकी नेपालीले दक्षता विकास गर्ने गरी सीप नै सिक्न सकेका छ्रैनन् ।
अर्कोेतर्फ भारतबाट भने नेपालीले काम गर्न अल्छी मान्ने तथा कामदार सानो सम्झने क्षेत्रमा बढी कामखार आएका छन् ।
भारतीय नागरिकले नेपालमा श्रम स्वीकृति नलिइ नै काम गर्न सक्छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले २ हजार ७ जना विदेशी कामदारलाई श्रम स्वीकृति दिएको छ ।
जसमध्ये भारतीय मात्र ७२ जना छन् । अन्य श्रमिकको भने यसमा कुनै गणना हुँदैन । नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा बढीजसो चिनियाँ नागरिक छन् ।
यसबाहेक अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, अमेरिका लगायतका देशबाट कामदार भिसामा विदेशीहरु नेपाल आएको तथ्यांक छ ।