काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको दावी छ ।
स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग नै घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू भएको बताएका हुन् । नेपाल खोप खरीदमा अहिले चीन र अमेरिकामा केन्द्रित भएको जानकारी उनले गराए । खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागिएको उनको भनाई छ ।
मन्त्री ज्ञवालीका अनुसार अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्ने समेत उनले जानकारी दिए ।