नेपाली रेलमा यात्रु बोक्ने बाटो खुल्यो

काठमाडौं । सरकारले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेसँगै नेपाली रेलमा यात्रु बोक्ने बाटो खुलेको छ । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न सकिने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी हुन् । कानुन नहुँदा रेलले औपचारिक रुपमा उद्घाटन भएर कहिलेदेखि यात्रु बोक्छ भन्ने निश्चित थिएन ।

२२ वैशाख, २०७८ र १५ मंसिर २०७८ मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएका हुन् । रेल्वे कम्पनीका अनुसार टिकट छाप्नेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पनी कोंकण रेल्वेसँग सम्झौता गर्नेसम्मका सबै काम भइसकेका छन् । भारतले ५ कात्तिक २०७८मा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको थियो । भारतले सन् २०१४ बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो ।

नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको छ । ३४ किलोमिटरको जनकपुर(जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।