काठमाडौं । नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेलले अब वीरगन्ज विराटनगरबाट भारतको कलकत्ता र हल्दियासम्म पुगी सामान ढुवानी गर्न सक्ने भएका छन् । नेपाल र भारतबीच रेल सेवा सम्झौतामा संशोधन गरि यस्तो प्रावधान राखिएको हो । यसअघि नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरुवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा उपलब्ध हुने भएको छ ।
नेपाल भारत पारवहन सन्धिमा व्यवस्था भएअनुरुप अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतीका आधारमा रेल सेवा विस्तार हुँदै जाने सहमति समेत भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका तर्फबाट १४ असारमा भारत सरकारसँग यस्तो प्रस्ताव गरेको थियो ।
दुवै मुलुकबीच भएको सहमति अनुसार नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दीनेश कुमार भट्टराईले पठाएको प्रस्तावमा भारतका तर्फबाट मंगलबार भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर सुशान्त कुमार मिश्राले हस्ताक्षर गरेका छन् । यससँगै दुबै मुलुकबीच रेल सेवा सम्झौता संशोधन भएको मन्त्रालयले जनाएको छ ।
सन् २०१९ जुन ६–७ मा भारतको नयाँ दिल्लीमा भएको पुनरावलोकन बैठकबाट विद्यमान नेपाल–भारत रेल सेवा सम्झौता गर्न सहमति भएको थियो । मन्त्रालयका अनुसार यो सम्झौतामा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारमा भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतको द्धिपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्न व्यवस्था गरिएको छ ।
संशोधित प्रावधान अनुसार भारतका निजी रेल सेवा प्रदायकले नेपालका लागि हुने ढुवानी सेवा दिन सक्ने गरि बाटो खुलेको छ । अहिले यस्तो ढुवानी भारतीय कन्टेनर निगम लिमिटेडले उपलब्ध गराइरहेको छ । प्रस्तावित सम्झौतापत्र आदानप्रदान भएपछि भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटले नेपालको पारवहनका लागि हुने ढुवानी सेवा दिन सक्ने भएका हुन् । यसले अन्तर्राष्ट्रिय व्यापार सहज हुने मन्त्रालयको भनाई छ ।
साविकमा नेपालमा हुने आयात–निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क अग्रिम रुपमा कलकत्तामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैक मार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था समेत भएको छ । यस संशोधनले दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको मन्त्रालयको भनाई छ ।