काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्से परिसूचकमै पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको साढे २ घण्टामै नेप्से ६ प्रतिशतले बढेर दिनभरका लागि कारोबार बन्द भएको हो ।
पछिल्ला दुई दिनमै १६७ अंकले घटेको नेप्से आज एकाएक उछाल आएको हो । आज एकै दिन नेप्से सूचक १३७.१८ अंकले बढेको छ । यो इतिहासमै एकैदिन बढेको दोस्रो धेरै अंकको हो । यसअघि गत भदौ २१ गते एकैदिन १६२ अंकले बढेको थियो ।
सूचकमा उछाल आए पनि कारोबार रकममा भने ठूलो बढोत्तरी आउन सकेको छैन । साढे दुई घण्टामा पौने २ अर्बको मात्र कारोबार भएको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेको छ । आज २२० कम्पनीको १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँ बराबरको ४० लाख ८५ हजार ९५६ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ९.२ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र व्यापार समूह पनि ८ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका २२० कम्पनीमध्ये २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ३ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर ७ करोड र आइसीएफसी फाइनान्स ५ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
नेप्से इतिहासकै दोस्रो धेरै अंकले बढेको दिन करिब ५ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्र, विशाल बजार, नेपाल फाइनान्स, बेस्ट, सेन्टर, समृद्धि, आइसीएफसी, प्रोग्रेसिभ फाइनान्स,अरुण भ्याली, ग्रामिण विकास बैंक, ज्योति विकास, कामना सेवा विकास, मल्टी प्रपोज फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, कालिका माइक्रोफाइनान्स, जन उत्थान, एचआइडीसीएल, ङादी पावर, ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला, दिव्यश्वरी, सिनर्जी पावर, छ्याङदी, राधी, पञ्चकन्यामाइ, आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आशा लघुवित्त, युनिभर्सल पावर, माउन्टेन हाइड्रो, सबैको लघुवित्त, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रस्ट्रक्चर, शिवश्री हाइड्रोपावर, युनाइटेड मोदी, सिंगटी, मनकामना स्मार्ट लघुवित्त, तेह्रथुम पावर, सामलिङ पावर, न्यादी हाइड्रोपावर ५५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।