नेपाली सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज पनि उच्च अंकले बढेको हो ।

पछिल्लो दुई दिनमै नेप्से करिब ५५ अंकले बढेको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यससाता औसतमा दैनिक साढे ५ अर्बके कारोबार हुँदै आएकोमा आज बढेर पौने ७ अर्ब पुगेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ४१.३० अंकले बढेर २५७०.२५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच भएका छन् ।

बुधबारर कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर बाहेक अरुसबै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै ३८१.११ अंकले बढेको छ भने हाइड्रोपावर समूह १४.९५ अंकले घटेको छ ।

कारोबारमा आएका २०८ कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ६५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ४५ करोड र नेपाल बंगलादेश बैंक ३४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

एचआडीसीएल, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त, माउन्टेन हाइड्रो नेपाल र कालिका पावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज रैराङ हाइड्रोपावर सेयरधनीले सबैभन्दा धेरै ३.६० प्रतिशत गुमाएका छन् ।