नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा झन्डै १०० अंकको बढोत्तरी आएको हो ।

मुख्यगरी बैंक, विकास बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सेले ठूलो छलाङ मारेको हो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सूचीकृत कम्पनीहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र लगत्तै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता आशावादी हुँदा बजारले एकै दिन ठूलो फड्को मारेको हो ।

यस्तै, शुक्रबार नयाँ अर्थमन्त्री जर्नादन शर्माले सेयर बजारमा रहेका समस्या समाधान गर्दै सर्वसाधरण अनुकुल बनाइने बताएका थिए । अर्थमन्त्रलीले सेयर बजार सम्बन्धी सकारात्मक धारण राखेसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले गति लिएको हो ।

आज सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिकसाढे ५ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज दोब्बरले बढेर साढे ११ अर्ब बढीको कारोबार भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । आज २२१ कम्पनीको ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहसबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि ४.७१ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२१ कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंकको साढे ३३ करोड र अरुण भ्याली हाइड्रोपावर साढे ३७ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

छलाङ मारेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर र सिंगटी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, सिद्धार्थ बैंक ८.५३ प्रतिशत, महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, पाँचथर पावर, एनआइसी एशिया र माछापुच्छे बैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी, गोर्खा फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रो डेभलपरको ५ प्रतिशतभन्दा धेरैले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, पञ्चकन्यामाइ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज कृषि विकास बैंक डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै ३।९० प्रतिशतले घटेको छ ।