नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार झिनो अंकले बढेको छ । आइतबार एकैदिन ७१ अंकले बढेको बजारमा आज न्यून अंकको वृद्धि आएको हो ।सूचक जस्तै आज कारोबार रकम पनि स्थिर जस्तै रहेको छ । यसदिन करिब सवा ९ अर्बको कारोबार भएको छ ।

सेयर बजार मापक सूचक नेप्से आज ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा पुगेको छ । आज २२६ कम्पनीको ९ अर्ब २९ करोड रुपैयाँ बढीको १ करोड ५६ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.५४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदीको ४७ र नेशनल हाइड्रो ३४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज कालिका पावरका सेयरधनीले भने सबैभन्दा धेरै ६.४७ प्रतिशत गुमाएका छन् ।