नेपाली सेयर बजारमा तीव्र उतरचढाव कायमै, नेप्से झिनो अंकले घट्यो

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । बजार खुल्न साथ करिब ७५ अंकले बढेको बजार दिउँसो दोहोरो अंकले घटेको थियो भने अन्त्यमा ४ अंकले घटेर बन्द भएको छ ।

यससाता सुरुका दुई दिनमा १६७ अंकले घटेको बजार हिजो एकै दिन १३७ अंकले बढेको थियो । आज पनि खुल्न साथ उच्च अंकले बढेको बजार अन्त्यमा रातो भएर बन्द भएको हो ।

सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम दोब्बरले साढे ४ अर्ब पुगेको छ ।

बुधबार सेयर बजार मापक सूचक नेप्से ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ भने होटल समूह १.७९ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका २२८ कम्पनीमध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

झिनो गिरावट आएको बजारमा आज सामलिङ पावर कम्प्नीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएक छन् ।

त्यसैगरी, दिव्यश्वरी र आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, आइसीएफसी, मल्टिपर्पस र बेस्ट फाइनान्सको ६ प्रतिशतभन्दा धेरै, बुटवल पावर, नेशनल हाइड्रो, विशाल बजार र मानुषी लघुवित्तका सेयरधनीले पनि ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

घट्दो बजारमा आज नयाँ सारथी लघुवित्तका सेयरधनीले भने सबैभन्दा धेरै ५.३४ प्रतिशत गुमाएका छन् ।