काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब ५०० अंकको करेक्शनपछि मंगलबारदेखि उकालो लागेको बजारमा आज तेहेरो अंकले बढेको हो ।
नेप्सेमा आज झन्डै १०५ अंकले बढेको छ । नेप्सै एकैदिन १०० बढी अंकले बढेको इतिहासमै दोस्रो पटक पटक हो । यसअघि भदौ २१ गते सर्वाधिक १६२ अंकले बढेको थियो ।
विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहको सेयरमा उछाल आउँदा नेप्सेमा तेहेरो अंकको वृद्धि आएको हो । सूचकमा उच्च अकंको वृद्धि आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै सवा १ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ बराबरको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक ७.७४ प्रतिश, हाइड्रोपावर ५.५७ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका २१७ कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रो १८ र आरएमडीसी लघुवित्त १७ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
तेहेरो अंकले बढेको बजारमा आज २० कम्पनीको मूलयमा पोजेटिभ सर्किट लागेको छ । प्रिमियर इन्स्योरेन्स, बेस्ट, गुह्येश्वरी, आइसीएफसी, मल्टिप्रपोज, रिलायन्स फाइनानस, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा र लिबर्टी इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्ट, पञ्चकन्यामाइ हाइड्रोपावर, माउन्टेन हाइड्रो, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन ऊर्जाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । यस्तै, आधादर्जन कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उच्च अंकले बढेको बजारमा आज मञ्जुश्री फाइनान्सका डिबेञ्चरधनीले सबैभन्दा धेरै १.४९ प्रतिशतले बढेको छ ।