काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।
नेप्सेले २२६७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२५० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि हिजो नेप्सेले इतिहासकै उच्च २२३९ विन्दु पार गरेको थियो ।
नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर साढे ३० खर्ब नाघेको छ । यो बजार पूँजीकरण हालसम्मकै धेरै हो ।
आज सेयर बजार मापक सूचक नेप्से २८.३१अंकले बढेर २२६७.७३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ कम्पनीको ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको १ करोड ३५ लाख ३१हजार २२७ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३७६ अंकले बढेको छ भने व्यापार समूह १५.०४ अंकले घटेको छ ।
कारोबारमा आएका २०२ कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानीकर्ता प्रिमियर इन्स्योरेन्सको सेयर झुम्मिएका छन् । कम्पनीले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ता यसको सेयरप्रति आकर्षित भएका हुन् । यस कम्पनीको आज सबैभन्दा धेरै २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्रभु बैंक १६ करोड र अपर तामाकोशी १५ करोडसहित शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, अपर तामाकोशी, प्रभु लाइफ इन्स्योरेन्स र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।