नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको बजार लगातार दोहोरो अंकले बढेको हो । पछिल्ला तीन दिनमै नेप्से करिब ११५ अंकले बढेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर साढे ७ अर्ब पुगेको छ ।

सेयर बजार मापक सूचक नेप्से १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । मंगलबार २२४ कम्पनीको ७ अर्ब ३९ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ५.२९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.५२ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका २२४ कम्पनीमध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक साढे ३८ करोड र एशियन लाइफ ३३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पञ्चकन्या माइ हाइड्रोपावर र अपर तामाकोशीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, तेह्रथुम पावर, मानुषी लघुवित्त, नेपाल बंगलादेश बैंक र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, नेपाल टेलिकमको ८.८४ प्रतिशत, जोशी हाइड्रोपावर ७.०५, गोर्खा फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।