नेपाली सेयर बजारमा पहिरो, कारोबार साढे ६ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत मंगलबारदेखि उकालो लागेको बजारमा आज उच्च अंकको गिरावट आएको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनि साढे ७ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज साढे ६ अर्बमा सीमित भएको छ ।

आइतबार सेयर बजार मापक सूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.३०, व्यापार र लगानी समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबारमा आएका २३३ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा २०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, फरवार्ड माइक्रोफाइनान्सको प्रमोटर सेयर साढे ३१ करोड र नेपाल बैंक झन्डै २१ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले घटेको बजारमा आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.९८ प्रतिशत गुमाएका छन् । यस्तै, घलेम्दी हाइड्रो, मल्टिप्रपोज, बेस्ट, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, सिंगटी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ७ प्रतिशभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा पनि आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।