काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । मंगलबार ५६ अंकले घटेको बजार आज पनि ४८ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से सूचक १०५ अंकले घटेको हो ।
सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १२ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ४८.४२ अंकले घटेर ३१७६.४४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.८४ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक र उत्पादनमूलक समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावर ४८ करोड र अरुण भ्याली हाइड्रोपावर ४६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
उच्च अंकले घटेको बजारमा आज खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।
यसैगरी, आज जानकी फाइनान्स ६.०५ प्रतिश, जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन पावर, फर्स्ट माइक्रोफाइनान्स र रुरु जलविद्युतको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने आइसीएफसी फाइनान्सको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।