काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि लगातार उच्च अंकले बढ्दै आएको नेप्से आज पनि सोही लयमा उकालो लागेको हो । यससाताका ३ दिनमै नेप्से १४२ अंकले बढेको छ ।
बैंकिङ प्रणालीमा तरलता केही सहज भएसँगै सेयर बजारले गति लिएको हो । साथै, पछिल्लो समय कोरोना संक्रमण फैलिँदै गएसँगै लकडाउन हुने हल्लाका कारण पनि लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको बताइएको छ ।
सूचकमा उछाल आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोडले घटेर पौने ७ अर्बमा सीमित भएको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको छ । आज २३२ कम्पनीको ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९८ रुपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक समूह बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ६.१५ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, होटल, माइक्रोफाइनान्स र जीवन बीमा समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कारोबार भएका २३२ कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ३० कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, गोर्खा फाइनान्स १६ करोड र नेपाल लाइफ १५ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंक ९.०१, सेन्टर फाइनान्स र इन्फिनिटी लघुवित्तको ८ प्रतिशत, गोर्खा फाइनान्स, नेरुडे लघुवित्त, सबैको लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटल लगायत १ दर्जन कम्पनीके सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज माउन्टेन इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.५२ प्रतिशतले घटेको छ ।