नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा

काठमाडौं । सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । पछिल्लो दुई साता यता निरन्तर उकालो लागेको बजारले डेढ महिना पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सले २६५७ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि नेप्सले फागुन ९ गत इतिहासकै सर्वाधिक २६४०.३४ विन्दुको रेकर्ड बनाएको थियो ।

सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि सुधार आएको छ । गतहप्ता औसतमा दैनिक ६ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज बढेर ९ अर्ब माथि पुगेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर किनबेच भएका छन्।

आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५४३.५८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २०३.५९ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २१२ कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा झुम्मिएका छन् । यसको सर्वाधिक ४७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी २८ करोड र नेपाल पुनर्बीमा कम्पनी २६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंक्ले बढेको बजारमा आज आधादर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधि विद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।