काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । बुधबार दोहोरो अंकले घटेको बजार आज फेरि लयमा फर्किएको हो । यससाताको शुरुका ३ दिनमा करिब १०९ अंकले बढेको बजारमा हिजो १३ अंकले घटेको थियो । यससाता नेप्से समग्रमा १०५ अंकले बढेको छ ।
सूचक बढे पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । बुधबार कीर्तिमानी ११ अर्ब ९५ करोडको कारोबार भएकोमा आज पौने ३ अर्बले घटेर सवा ९ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ६.३७ अंकले बढेर २७८७.१९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ७ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् ।विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ११३.४४ अंकले बढेको छ भने जीवन बीमा समूह ७८.८५ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा बैंक अफ काठमाण्डू ३४ करोड र नेशनल लाइफ इन्स्योरेन्स २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त, गुडविल फाइनान्स, मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड इदीमार्दी हाइड्रोपावर र जानकी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
यसैगरी, गुह्वेश्वरी मर्चेन्ट र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ । बढ्दो बजारमा आज पाँचथर पावरको सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घटेको छ ।