नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले नयाँ कीर्तिमान बनाएको छ । करिब ७० अंकको करेक्शनपछि सोमबारदेखि उकालो लागेको सेयर बजारले आज फेरि नयाँ इतिहास बनाएको हो ।

गत बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २४७३ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४५० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि गत माघ १४ गते नेप्सेले इतिहासकै उच्च २४४१.८७ विन्दु पार गरेको थियो ।बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीमा उछाल आउँदा आज नेप्सेले नयाँ इतिहास रचेको हो ।

यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब ८० अर्बले बढेर सवा ३३ खर्ब रुपैयाँ बढी पुगेको छ । नेप्सेका अनुसार मंगलबार सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से ६५.४९ अंकले बढेर २४७३.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०० कम्पनीको ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँ बराबरको १ करोड ५४ लाख ४० हजार ३८७ कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १२ वटा समूहमध्ये होटल बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । बीमा कम्पनी र लघुवित्त समूहमा उछाल आएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६२६.३३, जीवन बीमा ५९४.२४ र माइक्रोफाइनान्स १५२.१२ अंकले बढेको छ ।

कारोबारमा आएका २०० कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै ५८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ग्लोबल आइएमई बैंक ५३ करोड र नेपाल टेलिकम ३८ करोड सहित शीर्ष तीनमा रहे ।

लगानीकर्ता माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । उच्च अंकले बढेको बजारमा करिब १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

पोजेटिभ सर्किट लाग्नेमा अधिकांश लघुवित्त र बीमा क्षेत्रका कम्पनी रहेका छन् ।प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, अजोड, रिलायन्स इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत नाफा कमाएक छन् ।

यसैगरी, जनरल इन्स्योरेन्स, सानिमा जनरल, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । अन्य आधादर्जन कम्पनीको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।