नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा

काठमाडौं । सेयर बजार मापक परिसूचक नेप्से ९ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ । पछिल्लो समय लगातार ओरालो लागेको नेप्से सोमबार ३ अंकले घट्दै १८१८.३१ विन्दुमा आइपुगेको हो ।

यो पछिल्लो ९ महिना यताकै न्यून विन्दु हो । यसअघि गत असोज ९ गते नेप्से १८१५ विन्दुमा पुगेको थियो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले घटेर ७२ करोडमा सीमित भएको छ ।

सोमबार २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूह्को परिसूचक बढेको छ भने ९ को घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६२ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सलिको इन्स्योरेन्स झन्डै ३ करोड र नागरिक लगानी कोष साढे २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज सलिको इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ६.४५ प्रतिशत गुमाएका छन् । त्यस्तै, बाराही हाइड्रोपावर र इक्वीटी फण्डको सेयरमूल्य ५ प्रतिशतले बढेको छ ।