काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक नेपालबाट जापानमा सिधा उडान शुरु गरेको छ ।
बिहीबार बिहान २ः३० बजे निगमको जहाज जापानका लागि उड्दैछ । उडानको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल वायुसेवा निगमको भनाई छ ।
करीव १ सय २५ भन्दा बढी यात्रु बोकेर निगमको जहाज जापानका लागि उड्ने निगमले जानकारी दिएको छ ।
निगमका अनुसार त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानपछि जहाज जापानको ओशाकास्थित कान्साई विमानस्थलमा पुग्ने छ ।
यस उडानको नेतृत्व गरी नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा जापान जाँदैछन् ।
यसबाहेक मन्त्रालयका सहसचिव, निगम संचलक समितिका पदाधिकारीसमेत यस उडानबाट जापान जाने भएका छन् । निगमले यो उडानमा वाइडबडी जहाज ए ३३०–२०० जहाज उडाउँदैछ ।
यो वाइडबडीको पहिलो लामो दूरीको गन्तब्य समेत हो । नेपाल एयरलाइन्सले यसअघि काठमाडौं-सांघाई-ओसाका रुटमा उडान गरेको भएपनि सिधा उडान भने पहिलो पटक हुन लागेको हो ।
ओसाकामा निगमले ३० अक्टोवर १९९४ देखि उडान थालेको थियो । त्यो उडान १२ अप्रिल २००७ सम्म कायम रहेर रद्द भएको थियो । अब काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान हुने भएको छ ।