काठमाडौं । नेपाल एयरलाइन्सले अष्ट्रेलिया र दक्षिण कोरियामा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाका नागरिक र नेपालबाट कोरियाको भिषा लागेर बसेका नेपाली नागरिकलाई बोकेर नेपाल एयरलाइन्स उड्न लागेको हो ।
आगामी मे ६ मा अष्ट्रेलियाको सिड्नीमा उडानको तयारी गरिएको नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ । टिकट यात्रु आफैले काट्ने गरी चार्टर्ड उडान गर्न लागिएको हो ।
नेपालमा रोकिएका उक्त मुलुकका नागरिक लैजान यसअघि पनि नेपाल एयरलाइन्स अष्ट्रेलिया गइसकेको छ ।
अब दोस्रो उडानको तयारी गरिएको हो । यता, मन्त्रीपरिषद्ले कोरिया जाने कामदारलाई कोरिया जाने बाटो खोलेसँगै नेपालबाट नेपाली कामदार बोकेर नेपाल एयरलाइन्स कोरिया जाने भएको छ ।
त्यसको तयारी भइरहेको नेपाल एयरलाइन्सले जनाएको छ । कोरिया जाने कामदारको स्वास्थ्य चेकजाँच सकिएपछि नेपाल एयरलाइन्सको जहाज कोरिया पुग्नेछ ।
यी दुबै गन्तब्यमा ए३३० वाइडबडी जहाज जाने कम्पनीले जनाएको छ ।