काठमाडौं । नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज बिक्रि गर्न सक्ने भएको छ । पहिले यी जहाजलाई भाडामा लगाउन प्रयास गर्ने र त्यसो गर्दा पनि व्यवस्थापन हुन नसके बिक्रि गर्न सकिने राय अर्थ मन्त्रालयले दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अर्थले यस्तो राय दिएसँगै जहाज व्यवस्थापनको बाटो खुलेको हो ।
अहिले नेपाल एयरलाइन्ससँग कुल ६ वटा जहाज छन् । त्यसमध्ये एउटा जहाज उड्न नसक्ने अवस्थामा छ । ५ जहाज मात्र उड्न सक्छन् । यी जहाज संचालनबाट कम्पनीलाई निरन्तर घाटा मात्र भएको निष्कर्ष निकाल्दै निगमले यी जहाज आफुले नउडाउने जानकारी मन्त्रालयमार्फत सरकारलाई गराएको थियो ।
२०७१ सालमा पहिलो जहाज नेपाल आएको थियो । दुर्गम भेगका जनतालाई उत्कृष्ट सेवा दिने उद्देश्यले भित्राइएका यी जहाज केही वर्ष भित्रै कबाडीमा परिणत बनेका छन् । यसबाट मुलुकले ८ अर्ब भन्दा बढी क्षति बेहोरिसकेको छ ।