नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करियर बनाउन इच्छुक युवाहरुका लागि खुसीको खबर छ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जना नयाँ भर्ना गर्ने गरी रोजगारी खुलाएको छ । बैंकले अनलाइन दरखास्त फारम आह्वान गर्दै यस्तो जानकारी दिएको हो । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको बैंकको भनाई छ ।

आजदेखि अनलाइन दरखास्त भर्न सकिने छ । चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय तोकिएको बैंकले जनाएको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन मागेको हो ।

बैंकले स्थायी दरबन्दीका लागि आवेदन मागेको हो । सहायक प्रबन्धक पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघे र अन्य पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाएको छ । सूचनाबारे बैंकले गोरखापत्रमा सूचना प्रकाशित गरेको छ । अनलाइन फारम भने बैंकको वेवसाइटबाट भर्न सकिने भएको छ ।