नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकरले पैसा चोरी गर्न सक्ने भन्दै चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोनमार्फत नै धम्की दिइएको छ भने अन्य बैंकमा भने इमेल पठाइएको छ । ह्याकरले बैंकको प्रणाली ह्याक गरि पैसा निकाल्ने धम्की दिएका छन् । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ ।

यससँगै बैंकहरुले पनि आफ्नो आइटी विभागलाई चनाखो हुन भनेका छन् । यसबारे अनुसन्धान समेत शुरु गरिएको छ । ह्याकरले यो चेतावनीलाई सामान्य रुपमा नलिन भन्दै धम्की समेत दिएका छन् । पछिल्ला दिनमा नेपालको बैंकिण प्रणालीमा निरन्तर प्रहार भइरहेको छ । यसले नेपालको वित्तीय प्रणालीको सुरक्षामा प्रश्न चिन्ह उठिरहेको समयमा यस्तो धम्की आएको हो ।

नेपाली संचारमाध्यमहरुका अनुसार ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई इमेल गरेको थियो । जसमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । यो पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई समेत गएको छ । प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट फोन आएको समेत समाचारमा उल्लेख छ ।