नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । विगत केही दिनयताको विभिन्न समाचारहरु र त्यसले निर्माण गर्दै लगेको लगानीकर्ताको मनोविज्ञानका कारण बजारमा आज पहिरो गएको देखिएको छ ।

धितोपत्र बोर्डले निकालेको विज्ञप्ति र राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्ने भन्ने समाचारहरु बाहिर आएसँगै लगानीकर्ताहरु आत्तिन थालेका थिए ।

आज बिहानै देखि घट्न थालेको सेयर बजार बीचमा केही समय सम्हालिन खोजे पनि अन्ततः १२३ अंक घटेर सर्किट ब्रेक लागेको छ । बजार ६ प्रतिशत घटेसँगै आजको लागि नेप्से बन्द भएको छ । एकैदिन यति धेरै अंकले बजार घटेको यो पहिलोपटक हो ।

आज कारोबार भएका कुल १९७ कम्पनी मध्ये ९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकी १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढिले घटेको छ ।

उप–सूचक अन्र्तगत सबैभन्दा बढि लाइफ इन्स्योरेन्स सेक्टरमा ८.२६ प्रतिशतको गिरावट आएको छ । उत्पादन र माइक्रोफाइनान्स पनि ७ प्रतिशत भन्दा बढिले घटेका छन् । नन लाइफ ५.७४, बैंकिङ ४.३३, विकास बैंक ३.४४, फाइनान्स २.१८, होटल ४, हाइड्रो ५ र म्युचुअल फण्ड १.७८ प्रतिशतले घटेका छन् ।