नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से आज पनि उच्च अंकले घटेको हो ।

आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५० कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बढीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै २.८८ प्रतिशतले घटेको छ ।

आज कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर र नबिल बैंकको ५/५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर र रुरु जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।