काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको नेप्से आज ३२.२० अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले बढेर झन्डै डेढ अर्ब पुगेको छ ।
बिहीबार २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ७ करोड र एनआइसी एशिया बैंक पौने ७ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।
यस्तै, शिव श्री हाइड्रोपावरको ८.१४, गणपति लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।