काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो ।
आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारिएको बताएसँगै लगानीकर्ता हतोत्साही हुँदा आज नेप्सेमा गिरावट आएको हो । यस्तै, प्रफिट बुक गर्ने हाबी हुँदा पनि सूचकमा दबाब परेको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोड बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये अन्य र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक १९ करोड र प्रभु बैंक १५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज एनआइबीएल ग्रोथ फण्डका इकाईधनीले सर्वाधिक ६.९३ प्रतिशत गुमाएका छन् । त्यस्तै, लिबर्टी इनर्जी ६.२५, विशाल बजार, कर्पोरेट डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।