नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्त्यमा २३ अंकले बढेर बन्द भएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोडले बढेर ८५ करोड पुगेको छ ।

बुधबार २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३७ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम र एनआइसी एशिया समान पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज आत्मनिर्भर लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

यस्तै, आदर्श लघुवित्त ८.०६, इस्टर्न हाइड्रोपावर ८, साहस ऊर्जा ७.८८, पञ्चकन्या माइ हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।