दोहोरो अंकले घट्यो नेपाली शेयर बजार

काठमाडौं । सेयर बजारमा अंकको करेक्शन आएको छ । यससाताका ३ दिनमा करिब ११५ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बभन्दा धेरैले घटेर सवा ६ अर्बमा सीमित भएको छ ।

सेयर बजार मापक सूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा आइपुगेको छ । बिहीबार २२४ कम्पनीको ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँ बराबरको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह १.२६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७७ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका २२४ कम्पनीमध्ये जम्मा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ४० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक ५७ करोड र अपर तामाकोशीको ३९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको करिब १० प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज मैलुङ खोला कम्पनीको सेयरधनीले सबैभन्दा धेरै ५.०२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, शिवश्री हाइड्रोपार, माउन्टेन इनर्जी, हिमालयन पावर, हिमालयन ऊर्जा, गेडविल फाइनान्स र माउन्छेन हाइड्रोका सेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।