काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से आज ३५ अंकले घटेको छ ।
पछिल्लो दुई कारोबार दिनमै नेप्से ८५ अंकले घटेको छ । मंगलबार नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक झन्डै ४ करोड र हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको साधरण र प्रमोटर दुवै सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्स ६.५०, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५, मल्टिपर्पस फाइनान्स ५.३८, प्रभु इन्स्योरेन्स ५.२८, राष्ट्रिय बीमा कम्पनीे प्रमोटर सेयर ५.१५, मैलुङखोला ५.१२, नेपाल इन्स्योरेन्स र समृद्धि फाइनान्सको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।